Monday, September 9, 2013

गजल (यौटा गल्ती आफ्नै हाड–नाताभित्र भयो)

0 comments
यौटा गल्ती आफ्नै हाड–नाताभित्र भयो
अर्को गल्ती प्रहरीकै हाताभित्र भयो

अँधेरीको छेल पारी के के गरे, गरे
सबै कुरा सँगै ओत्ने छाताभित्र भयो

खल्ती भर्न पल्केकाले न्याय बेच्न खोज्दा
नगदको कारोवार खाताभित्र भयो

अबोध त्यो बालकको के दोष पो छ र
जे नहुनु तिनै जीवन् दाताभित्र भयो

न्याय कहाँ पाइन्छ र यी भ्रष्टले गर्दा
जो घटना यहाँ गत साताभित्र भयो


सर्वत्रापमानित ‘स्मृतिरोगी’

नामर्द

0 comments
प्रेमलाई एउटा पवित्र आदर्श सम्झेर हदैसम्मको प्रेम गथ्र्यो ऊ । उपासना र साधना सम्झेर पूजा गथ्र्यो । नैतिक संस्कारबाट हुर्किएको ऊ प्रेमेभित्रका वर्तमान विकृतिहरु केलाएर गहन विश्लेषण गथ्र्यो र विकृत्योन्मुख पृष्ठभूमिको वर्तमान समाजमा सभ्य र आदर्श प्रेमको एउटा नमुना पेश गर्ने कल्पना गथ्र्यो । संस्कारले सिकाएको नैतिक शिक्षाको मर्यादामा उसले विवाहपूर्वको अनैतिक शारीरिक सम्बन्धलाई परैबाट पन्छाइदिन्थ्यो । यद्यपि ती सुमधुर प्रणय मिलनहरुमा आफ्नी प्रेमिकाको अब्यक्त आकांक्षा उसले आभाष नपाएको हैन । सँगै हिड्दा ढेपिएर देखाएको देहभावको आशय नबुझेको हैन । प्रेम साटा–साट गर्ने क्रममा शाब्दिक रुपमा अब्यक्त रहेपनि उनका चाहनाले झल्काएको कामुकता र स्पर्शमा उनको मुखबाट निस्कने आनन्दानुभूतिको उच्छवासले कहिलेकाहीं ऊ ऊ पनि उत्तेजित नभएको हैन । यस्तो स्थितिमा ऊ भित्र पनि वासनाको अनियन्त्रित बाढी नै चल्थ्याो । तर ती वासनात्मक उत्तेजनाका छालहरुलाई ऊ नियन्त्रणमा लिन बाध्य हुन्थ्यो ।

कैयौं पटकका ती भेटहरुमा ऊबाट प्रेमिकाका चाहनामाथि सम्बोधन हुन नसकेपछि ऊप्रति उनी पनि वितृषित हुदै गईरहेकी थिईन् । प्रणयपरक ती भेटहरु विस्तारै पातलिदै गईरहेको थियो । स्वतन्त्र जीवनमा मनको चाहनालाई कुण्ठित राखेर को पो बस्थ्यो र ? मनको माग पूरा गर्न प्रशस्त खुल्ला मार्गहरु भएको अवस्थामा उनले पनि अर्को बाटो खोज्न थाल्नु अस्वाभाविक थिएन । समय क्रमसँगै यस्तै विषमतापूर्ण परिस्थितिमा उसको प्रेमिकाको सम्बन्ध अन्यत्र विस्तार हुदै गईरहेको थियो । जसको बतासे हावा उसको कानसम्म पनि ठोक्किन आइपुगेको थियो । त्यसले एउटा ठूलै बज्रपात प¥यो ऊमाथि । प्रेमको धरातलमा भावनाले उठ्नै नसक्ने गरी पछा¥यो उसलाई । तर पनि हावाको भरमा कागको पछाडि दौड्नुभन्दा सत्य–तथ्य बुझ्नु उचित लाग्यो उसलाई । विक्षिप्त अवस्थामा उच्च संयमता अपनाउदै स्पष्टीकरण लिने अभिप्रायका साथ उसले उनीसँग एकपटक भेट्ने इच्छा ब्यक्त ग¥यो । तर उनी भेट्न चाहिनन् । बरु ठाडै ओठे जवाफ फर्काउदै प्रेमका लागि मनका चाहनाहरुलाई तिलाञ्जली दिन नसक्ने भन्दै उनको स्वतन्त्र जीवनमाथि प्रेमको नाउँमा हस्तक्षेप गर्न खोजेको आरोप आयो उसलाई । थुप्रै अरु के के भन्दै थिईन् उनी, उसले सुन्न सकेन, मात्र उसको स्मृतिपटमा उनले भनेका यही वाक्य गुञ्जिरह्यो, ‘...तिमीजस्तो जिन्दगीको मिठास बुझ्न नसक्ने हुतिहारासँग प्रेम र जीवन सम्झौतामा बन्धकी राखेर मनका लोभलाग्दा मीठा चाहनाहरुलाई सजाय दिनुछैन मलाई । ..... नामर्द कहींको !’
आज ऊ आफू समय सापेक्ष चल्न नसकेकोमा पछुताईरहेको छ ।
 
 
सर्वत्रापमानित ‘स्मृतिरोगी’

किन आउछस् याद मलाई रुवाउन

0 comments
विभिन्न असहमतिका वुँदाहरुमा सहमति गर्ने प्रयासका वावजूद पनि वार्ता भंग भई उनीसँग बिछोडिएपछि निरर्थक जीवन लिएर घर, परिवार, आफन्त सब त्याग गरी गन्तव्यहीन यात्रामा निस्किएको यात्री म । कहाँ जाने, के गर्ने, के खाने, केही निश्चय थिएन ।

बसस्टपमा पुग्दा यात्रुहरुको प्रतिक्षामा लामवद्ध रहेका यात्रुबाहक गाडीहरु छुट्ने तरखरमा देखें । बसका कन्डक्टरले चिच्याउदै थियो, कुनै ठाउँको नाम फलाकेर । पूर्व जाऊँ या पश्चिम जाऊँ भन्ने अन्यौलपूर्ण मनको द्धिविधा चिर्दै अनायासै पूर्वतर्फ फर्केको एउटा गाडीभित्र छिरें र एउटा सिट पनि ओगटी हालें । केही समयमै गाडीे विस्तारै अगाडि बढ्यो र आफ्नो रफ्तार कायम गर्दै विभिन्न घुम्ती र दोवाटोहरु पार गर्न थाल्यो । भावावेगका छालहरु मभित्र उठी नै रहेको थियो, जसले कतिबेला यी आँखाहरु सजल हुन्थे, पत्तै पाउदिनथें । देख्ने र पीडानुभूति गर्न सक्नेहरुले भग्न र दग्ध हृदयको ब्यथानुभूतिको सहजै अनुमान लगाए होलान् । तैपनि त्यो हालतमा आफूलाई अन्य यात्रुहरुको नजरबाट जोगाउने प्रयत्न गर्दै सम्हाल्न खोज्थें ।

बसमा रहेका यात्रुहरु आ–आफ्नै तरीकाले यात्रारत थिए । कोही आपसमा कुरा गरिरहेका थिए । कोही प्रविधिको उपहारका रुपमा हातमा परेको आधुनिक प्रचलनमा रहेका मोबाइलबाट कानसम्म पुग्ने इयरफोनको ठोसो कानमा ठोसेर मौनतामा रमिरहेका थिए । सबैको योजना थियो, गन्तव्य थियो, लक्ष्य थियो । तर ती यात्रुहरुको भीडमा म एक्लो मात्र त्यस्तो ब्यक्ति थिएँ । जसको कुनै निश्चित लक्ष्य, योजना र गन्तब्य थिएन । वैराग्यताले विक्षिप्त बनेको म मौनताभित्र भावना र वेदनाका संवेगहरुसँग बरालिएर कहिले वगरको कल्पनामा कहालिन्थें त, कहिले नगरको सपनामा सम्हालिन्थें । मन र मष्तिस्कसँगको सोझो सञ्चारमा खेल्न पाएका ती निस्फिक्री भावनाहरुसँग रुँदा र रम्दा ख्यालै गरिएनछ, गाडीले लामै दुरी नाघिसकेको रहेछ । गाडीको घट्दो गतिसँगै वास्तविकताले भत्काएको भावनात्मक संसारभित्रको मेरो एकतमासपन पनि भंग हुन पुगेपछि बाहिरतिर हेरें । सुन्दर घरअगाडि सजावटयुक्त गाडीहरु र कार भर्खरै रोकिएका जस्ता देखिन्थे । बाजाको सुमधुर ध्वनि आइरहेको थियो । जुन सबैलाई रमझमपूर्ण लागेपनि यो स्मृतिरोगीलाई पट्यार लाग्दो लागिरहेको थियो । जन्तीहरु भर्खरै गाडीबाट झर्दा सडक पूर्ण रुपमा भरिएको थियो । जसका कारण गाडीको गतिह्रास भएकोे थाह भयो ।

गाडीको झ्यालबाट विना अर्थ भीडतिर टोलाइरहेको थिएँ, अचानक मेरो नजर कारमा पुगेछ । वेहुला–वेहुली कारबाट ओर्लदै थिए । दृष्य मलाई अपत्यारिलो लाग्यो । ‘हँ, म सपनामा त छैन ?’ चिमोटेर आफैसँग प्रश्न गरें । भ्रमपूर्ण स्थितिमै फेरि प्रश्न गरें, ‘किन मलाई यस्तो भइरहेछ ?’ आखिर दृष्य वास्तविक थियो, भ्रम थिएन । घुम्टोभित्र लुक्ने सुन्दर नारी मुहार तिनै मेरी हुन नसकेकी प्रेमिकाको थियो । उनले त देखिनन् तर मैले गाडीभित्रबाट उनलाई निकैबेर हेरिरहें, हेरिरहें । हेर्दा हेर्दै मभित्र के के भयो, भयो । रिंगटा लागेर आयो । टाउको बोझिलो भयो । सिटमा अडिन नसकेर वेहोसीमा डंग्रङ्ग अगाडिको सिटमा ठोकिन पुगेछु । ब्युँझदा म त सपनामा पो रहेछु । उठेर मनमनै भनें, ‘किन आउँछेस् सपना तँ, मलाई यसरी रुवाउन ?’


सर्वत्रापमानित ‘स्मृतिरोगी’
(अहस्तान्तरित उपहारको केही अंशमा विहानीको सपनाको दृष्य सम्मिश्रण गर्दै)